विवाह अर्थात् बिहे एक नर र एक नारीको सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । विवाहले दुई परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।
पूर्वीय दर्शनले विवाहलाई सृष्टिक्रम अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । आधुनिक समाजले यसलाई जीवन बिताउने सम्झौता मात्र मान्न थालेको छ । यसैले गर्दा विश्वभरका वैवाहिक जीवनहरू अत्यन्त विवादास्पद हुन थालेका छन् । विश्वभरका मानव पचास प्रतिशत आफ्नो पन त्याग गर्दै पचास प्रतिशत विपरीत लिङ्गीको पन अङ्गिकार गरी गाँसिएको नयाँ वैधानिक सम्बन्धलाई विवाह भन्ने गर्दछन् । यसको अंग्रेजी नाम Marriage हो । अरु धर्मका बेग्लै विचार भएपनि प्राचीन वैदिक सनातन धर्मले भने विवाहलाई एउटा संस्कारका रूपमा लिने गरेको छ । प्राचीन कालमा अठचालीस वटा संस्कार भित्र र आधुनिक कालमा सोह्र वटा संस्कार भित्र विवाह संस्कारलाई लिने गरिन्छ । संस्कारको अर्थ परिष्कार गर्नु हो । वैदिक मन्त्रको प्रयोग गरी शुद्ध, संयमित र शक्तिशाली बनाइने हुनाले विवाहलाई पनि संस्कार भनिएको हो । अध्ययन सकेपछि आफूभन्दा अघिल्लो पुस्ता र आफूभन्दा पछिल्लो पुस्ताको पुलको भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरा विवाह संस्कारले सिकाउँदछ ।